गाउँ बाट उसलाई भेट्न उसकी आमा आएकी थिइन् । छोरीको लागि भनेर बिहान-बेलुकीको दुधको कुराउनी,तरकारी र अन्य खानेकुरा कोसेली ल्याएकी थिइन् ।
"मम्मी खबरै नगरी आउनुभएछ त ?", लाडिदै भन्छे आमालाई ।
"तँँ लाई भेट्न पनि अब खबर गरेर आउनुपर्ने ?"
लाडिदै गरेकी छोरीलाई अलिक ठूलो स्वरमा हप्काएकी थिइन पार्वतीले ।
"बरु भन्, कस्तो छ तेरो पढाई ?,
घरतिर सबैलाई राम्रै छ । सहर पसेपछि गाउँघर नबिर्सी तैंले, त्यसैले आएकी म !"
भुइँ तलाको कोठा, झ्यालको छेवैमा डबल बेडको बिस्तरा थियो । झ्याल खोलेर पर्दा लगाइन् पार्वतीले । थकाइले गलेकी उनी यसो बिस्तारामा पल्टिइन् । उता सिर्जना भने टिभीमा हिन्दी सिरियलमा मस्त थिइ । सिर्जना, उसकी साथी कमलासँग बस्थी । कमला स्टाफ नर्स सकेर हस्पिटलमा ड्युटी गर्थी । ऊ भने प्लस टु को फाइनल परिक्षाको तयारीमा थिइ । त्यस साँझ पनि कमला ड्युटी गएकी थिइ ।
सधैं अबेर खाना खान्थे उनिहरु ।
तर आमा आएको दिन उसले अलिक छिट्टै खाना तयार गर्न लागि । खाना बनाउदै गर्दा बत्ती निभ्यो । लोडसेडिङको नियमित तालिका थिएन । जतिबेला पनि बत्ती जान सक्थ्यो । एकैछिनमा आउँथ्यो बत्ती । तर त्यस दिन निकैबेर बत्ती आएन ।
"कतै बिजुलीको पोल ढलेको हुनुपर्छ !", आमाछोरीले यस्तै अनुमान् लगाए ।
निकैबेर बत्ती नआएपछि सिर्जनालाई निकै छट्पटी भयो । उसले कसैलाई फोन गर्न खोज्दै थिइ । तर लगातार फोन डायल गर्दा सम्पर्क हुन सकेन भन्ने आवाजले आजित भएकी थिइ । आमालाई बिस्तारामा सुताएर उसले आफ्नो लागि अर्को झ्याल नजिकै भुइँमा बिस्तारा लगाइ । निद्रा परेको थिएन उसलाई । किनकि उसले फोन गर्न खोजेको मान्छेलाई फोन लागेको थिएन । जबर्जस्त निदाउन खोजी । आँखाको ढकनी जोडिएनन् निकैबेर । उसलाई लाग्यो, 'यतिखेरसम्म नआएपछि त्यो मान्छे आज घर आउँदैन ।' यतिकुराको निर्क्योल गरेपछि निदाउने प्रयास गरि ।
त्यो साँझ पनि उसले ढोका खुल्लै राखेकी थिइ ।
यस्तो होला भन्ने पनि उसलाई थाहा नभएको होईन । त्यसैले उसले साकारलाई निरन्तरको प्रयास गरेकी थिइ । फोन लगाउन । तर त्यसदिन साकारलाई फोन लागेन । साकार कतिबेला कहाँ जान्थ्यो, के गर्थ्यो उसलाई केही थाहा थिएन । उसलाई त यतिमात्र थाहा थियो कि बेलुकीको ९ बजेपछि जहाँ पुगेको भएपनि कोठामा आउँथ्यो । ९ बज्यो आएन । साढे ९ भयो आएन । त्यसपछि उसले मनमनै निर्णय गरि ऊ आज कतै साथिकोमा बसेको हुनुपर्छ । त्यसो भएको भएपनि फोन गरेर जानकारी गराउनुपर्ने । कतै उसको फोन लागेन कि ? मनमा अनेक कुरा खेलाउदा-खेलाउदै झपक्क निदाई ।
"क्यार्न मोर्चे यो राँडी ?"
पार्वतीलाई लाग्यो, छोरी सपनाएर गिजोल्न आइ ।भुइँमा छुट्टै सुतेकी छोरीले नराम्रो सपना देखेको हुनुपर्छ । तर त्यतिबेलासम्म सिर्जना ब्युँझिसकेकी थिइन । जब पार्वतीले टर्च बालेर हेरिन्, अनि पो अचम्ममा परिन् । छोरी त आफ्नै बिस्तारामा सुतेकी छे । आँखा मिच्न थाली सिर्जनाले । ऊ जुन घटना घट्ला भनेर चिन्तित थिई । आखिर् भयो पनि त्यस्तै ! उसले चाहन्थी, यस्तो घटना नहोस् । तर भयो त्यस्तै । उसले अनेक उपाय अपनाउदा-अपनाउदै घटना घट्न पुग्यो । उसले ढोका खुला राख्नु नै गल्ती भयो । हुन त सधैं नै ढोका खुला राख्थी । त्यस दिन ढोका बन्द गर्न नबिर्सेको भए यस्तो हुने थिएन ।
सधैंझै सिर्जनाको मादकतामा रमाउने साकार मूर्ति बन्यो ।
केहि बोल्न सकेन ऊ । साकारकै स्वागतको लागि ढोका खुला राखेकी हुन्थी सिर्जनाले । उनीहरुको मौन सल्लाह थियो सायद । सिर्जानाको ढोका खुलै भएपछि ऊ एक्लै हुनेछे कोठामा । अनि यौवनको प्यास मेटाउनेछन्, एकापसमा । उसले फोन गरेर जानकारी गराउन नचाहेकी होईन । साकारको फोनमा सम्पर्क हुन सकेन । ढिलो हुन्छ भन्ने थाहा हुँदा-हुँदै पनि उसले सिर्जनालाई जानकारी गराउन सकेन । साकारको मोबाइलको ब्याट्री सकिएर स्विच अफ भएको थियो ।
"क्यार्न मोर्चे यो राँडी ?"
सधैंजसो सिर्जनासँग रमाइरहेको साकारको अगाडि एउटा असहज परिस्थितिले गाज्न पुग्यो । त्यस दिन पनि सिर्जनाको घरबाट आमा नआएकी भए सधैको रोमाञ्चकताले निरन्तरता पाउने थियो । पार्वतीको आवाजले साकारले के गर्ने के नगर्ने भन्ने कुरामा अनिर्णित भयो । वातावरण खल्बलियो । झपक्क निदाएकी सिर्जना पनि तन्द्राबाट ब्युँझिइ । सिर्जनाको अनुहार एउटा भयानक डरले लाल-लाल भयो । अझ साकारको अवस्था झनै पिडादायी थियो । लडाउमा हारेको सिपाहीझैँ । चोरी पक्रियो आखिर ।
पहिले त सोचेकी थिइन् पार्वतीले, "छोरी सपनामा हिड्ने बानी थियो, सानोमा । हराएको रहेनछ ।"
जब उनको बिस्तारामा उनिमाथी कसिलो गरि शरीर थिचियो र छोरीलाई गाली गरिन् । टर्च बालेपछि उनको अघिल्तिर एउटा सत्र-अठार वर्षे पठ्ठो देखिन् । ठम्याउनै सकिनन् पार्वतीले । "कतै म सपनामा पो छु कि ?" अलमलमा परिन्, एकैछिन । जब उनले आफ्नो अगाडि मूर्तिवत उभिएको केटोलाई देखेपछि उनलाई बडो रिस उठ्यो । सपना होईन भन्ने निर्क्योल गरिन पार्वतीले । निकै हपारिन पार्वतीले साकारलाई ।
"क्यार्न आइस् यति राती केटीमान्छेको कोठामा ?"
पार्वतीको कडा प्रश्नमा एकैछिन त ऊ मौन बस्यो । पार्वतीले उक्त प्रश्न पुनः दोहोर्याइन् । उत्तर नदिइ सुख छैन भन्ने ठानेपछी बनावटी र फितलो जवाफ दियो ऊसले ।
"सि ssss रक् लिन आएको !",
"आउँछ्स्, सिरक लिन !,
पख तँँ लाई भोलि पुलिस बोलाएर चिसो छिडिमा जाक्दा थाहा पाउछस् !"
आमाको पछिल्लो कुराले साकारलाई भन्दा सिर्जनालाई बढी पीडा दियो । उसले सोची, "प्रहरीमा उजुरी गरेपछि, म पनि जानुपर्छ । बरु भोकै बस्नु परोस् तर पुलिसकोमा जानू नपरोस् !" उसले प्रत्यक्षत: नभोगेकी भएपनि ऊ सानै छदा उसको गाउँ हुँदै आएको पुलिसले द्वन्दकालमा एउटा छापामार युवतिलाई पिट्दै हिडाएको देखेकी थिइ । अझ सुनेकी थिइ उसले, 'जब पुलिसको लाठि खाएको मान्छेले जिन्दगीभर केही गर्न सक्दैन ।' अनेक कुरा खेलाई मनमा । यतिबेलासम्म बचेकी छे ऊ । उसलाई आरोपित गरेकी छैनन् पार्वतीले । हुन त आफ्ना छोराछोरी सानै छन्, बच्चै छन् भन्ठान्छन् हरेक आमाबाबुले । मेरो छोरा/छोरी असल छ/छे , उसले नराम्रो काम गर्न सक्दैन/सक्दैने । यस्तै सोच्छन् । अहिलेसम्म साकारलाई दोषी देखेकी छन् पार्वतीले । उनलाई थाहा छैन । जे घटना घट्यो यो सधैं हुन्थ्यो र सल्लाहले हुन्थ्यो भन्ने कुरा ।
पार्वतीमात्र एक्लै बोलेकी थिइन् ।
साकार र सिर्जना दुवै मौन थिए । एकोहोरो गुनगुन आवाजले माथिल्लो तलामा सुतेकी घरबेटी मञ्जुको निद्रा खलबलियो । एकाएक । एकछिन त कोठा बाहिर निस्किएर ध्यान दिएर सुनिन्, भुइँ तलाको गुनगुन आवाज । कोलाहल रोकिने छाटकाट देखिएन । उनी तल ओर्लिईन् ।
"के को गुनगुन हो, यति रातीसम्म ?"
मञ्जुको प्रश्नले एकछिन कोठामा सन्नाअटा पैदा भयो । साकर र सिर्जना झनै भयभीत भए । "घरबेटीले पनि थाहा पाइन् हाम्रो कुरा !" उनीहरुले मनमनै कुरा खेलाए । पार्वतीले साकारलाई दोषी करार गर्दै सम्पूर्ण कुराको बेलिबिस्तार लगाईन । घरबेटी समक्ष ।
"अहिले सुत्नुस् सबैजना । भोलि छलफल गरौँला !"
घरबेटीको कुराले पार्वती मौन रहिन् ।
यति भनेर मञ्जु आफ्नो कोठामा गइन् ।
साकार पनि आफ्नो कोठामा गयो । अंश घटनाबारे छोरीसँग थप कुरा गर्न मन लागेन पार्वतीलाई । निद्रा बिथोलिएको घटनाले पार्वती मस्तसँग निदाउन सकिनन् । उता साकार पनि निदाउन सक्ने कुरै भएन । सिर्जना पनि अब भोलि के के हुने हो भनेर मनमा कुरा खेलाउदै पल्टिई बिस्तारामा ।
साकार र सिर्जनाको बारे घरबेटी मञ्जुलाई थाहा नभएको पनि होईन । "उनिहरुले मञ्जुरीमा गर्छन् भने मलाई के-को टाउको दुखाइ ? म किन बाधक बन्नु उनीहरुको सम्बन्धमा ?" सायद यस्तै सोचिन । उनले चाहेकी भए सिर्जना र साकार दुवैलाई निकाल्न सक्थिन् डेराबाट । तर त्यसो गरिनन उनले । उनले आजभन्दा पन्ध्र-सोह्र वर्षअघिको आफ्नो प्रेम सम्झिइन् । मञ्जुले पनि प्रेम विवाह गरेकी थिइन । उनी पुरानो यादले भिजिन निकैबेर । वर्तमानमा उनको खुशी खोसिएको थियो । उनका पति नेपाल प्रहरीका जागिरे थिए । अर्घाखाँचीको सन्धिखर्कमा माओवादीसँगको दोहोरो भिडन्तमा मारिए । अहिले त उनको छोरा पनि बाह्र वर्षको भएको छ । सिर्जना र साकारबीच आज उत्पन्न भएको परिस्थितिले एकाएक पतिलाई सम्झिन पुगिन् ।
सम्झदा पिडाका आँसुहरु पोखिन्थे ।
एक गिलास पानी पिएर मञ्जु बिस्तारामा पल्टिइन् ।
"कुखुरी काँँ !"
छिमेकीको भाले बास्यो । सिर्जना सधैं ५ बजे ब्युँँझिन्थी । प्रायः बिहानको ५ बज्दा भाले बास्थ्यो । कलेज बिदा थियो १२ कक्षाको अन्तिम परिक्षाको तयारीको लागि ! त्यसदिन उठ्न जागर चलेन । टाउको त्यसै भारी भएको थियो । आमा पार्वती उठिन् । आमा उठिसकेपछि सिर्जना पनि उठि बिस्ताराबाट । भुइँमा लगाएको बिस्तारा पनि उठाएर राखि । मुख धोइ । चिया बनाएर आमालाई दिइ । चिया पिउन मन नभएपनि पिइ आफूल्र पनि । आमाको अगाडी देखाउनु थिएन, "उसलाई केहि भएको छैन ।"
"खाना खाएपछि सबैजना माथी आउनु !"
यति भनेर घरबेटी आफ्नो कोठामा लागिन् । कमलाले सोची, "आज केहि काम होला, अनि बोलाईन् ।" उता साकारलाई पहिल्यै भनेकी थिइन्, माथी आउनु खाना खाएर । बिहानको दस बज्यो । खाना पाक्यो । कमला, सिर्जना र उसकी आमा पार्वतीले खाना खाए । खाना खाएर एकैछिन आराम गरेर घरको छतमा निस्किए । साकार पहिल्यै निस्किआकेको थियो । घरबेटीले आमा समूहको बैठक डाकेकी थिइन् । टोलका सबैजसो महिला जम्मा भएका थिए । प्रायः सबैजसो सहभागीलाई बैठकको विषय बताएकी थिइन् उनले । टोलका सबै महिलाहरु जम्मा भएका थिए । महिलाहरुको भेलामा साकार र मञ्जुको छोरा प्रकाशगरि जम्मा दुईजना पुरुषहरु थिए ।
बैठकको विषय प्रवेश गराइन् मञ्जुले ।
सबै महिलाहरुको ध्यान खिच्दै भनिन्,"हिजो राति सिर्जनाको कोठामा गएर साकारले अभद्र र अशिष्ट व्यवहार गरेको भन्ने कुरा छ । यस विषयमा छलफलको लागि आमा समूहको बैठक बस्नु परेको हो ।"
पार्वती च्याँठिइन्,
"सिधै भनिदिनुस् न बहिनि ! खाटमा सुतेकी म माथि हातपात गर्यो यसले । मेरो छातीमाथी जबर्जस्ती गर्न खोजेको हो । रातीको समय म बिस्तारामा एक्लै सुतेकी थिएँ । सायद मलाई मेरो छोरी ठानेर जबर्जस्ती गर्न खोजेको हो ।"
पार्वतीको कुरा सुनेर बैठकमा उपस्तिथित एक महिलाले भनिन्, "यस्ता मान्छेलाई घरबाट निकाल्नुपर्छ ।"
कतिपय महिलाले भने, "घरबाट निकालेर मात्रै पुग्दैन । पुलिसको जिम्मा लगाउनुपर्छ ।"
महिलाहरूको पछिल्लो कुरा सुनेर आफूले जितेको ठानिन्, पार्वतीले । उनको अनुहारमा एक किसिमको चमक देखिन्थ्यो ।
अर्की महिलाले भनिन्,
"आवेशमा आएर निर्णय गर्न हतारिनु हुन्न ! पहिला केटा र केटीको कुरा पनि बुझ्नुपर्छ ।"
पहिले सिर्जनालाई सोधे बैठकका सहभागीहरुले, "ऊ पहिले पनि आउँथ्यो तिम्रो कोठामा ?"
सिर्जनाले केही बोलिने । मौन नै बसि । त्यहीँ प्रश्न साकारलाई गरे ।
"पहिले पनि जाने गरेको थियो उसको कोठामा ?"
साकारले भन्यो, "हो जाने गर्थेँँ !"
साकारको कुराले पार्वतीको अनुहारमा देखिएको चमक एकाएक खस्कियो ।
" तिमीलाई उसले जबर्जस्ती त गरेको छैन ?"
सिर्जनाले भनी, "छैन ।"
उसको छोटो उत्तर पछि फेरि अर्को प्रश्न आयो, "जे-जे भयो, सहमतिमा भएको हो ?"
"हो, सहमतिमै भएको हो !", सिर्जनाले स्वीकार गरि ।
एकाएक साकारलाई मात्रै कार्वाही गर्न खोजेका महिलाहरु अचम्ममा परे । उनीहरुको सम्बन्ध हुनुपर्छ । छोरी सिर्जनासँग पार्वती निक्कै रिसाइन् । कमलाले पनि अनौठो मानेर हेरि बैठकको दृश्य !
बैठकले निर्णय गर्यो ।
"अब त्यसो नगर्ने । यदि गल्ती दोहोर्याएको पाइएमा दुवै जनालाई डेराबाट निकाल्ने भनेर ।"
त्यसको एक महिनापछि परिक्षा सकेर साकारले पनि कोठा छोड्यो । सिर्जना पनि परिक्षा सकेर बिदामा घर गइ ।
- ***
Very nice daai
ReplyDeleteThank you so much! 😍😍
Delete