Featured Post

अन्तिम साँझ - कथा - संघर्ष क्षेत्री

फुरुङ्ग थिइ ऊ । गाउँ बाट उसलाई भेट्न उसकी आमा आएकी थिइन् । छोरीको लागि भनेर बिहान-बेलुकीको दुधको कुराउनी,तरकारी र अन्य खानेकुरा कोसेली ल्याए...

Monday, May 18, 2020

जीवनको रङ - संघर्ष क्षेत्री - ( कविता )


जीवनको रङ्

- कविता


२१२२ , चैत्र
खुप्पै खेल्न मन छ ,
रङहरुसँग !
उबेला विधवा नारीझैँ पन्छिएँ
- रङहरु बाट टाढै भागेँ
- उहीँ सेतो रङलाई नै इन्द्रेणी ठानेँ ।
सेतो ,
मात्र सेतो रङलाई !
सुर्यको सेतो रङनै भएपनि प्रिज्मबाट प्रतिच्छेदन गरेर
इन्द्रेणी बनाउँदिहुँ !
- केवल चुनढुङ्गाको सेतो रङ
- सेतो गुराँसको सेतै रङ
- आमाले घर पोत्ने सेतै कमेरोलाई
हो यस्तै - यस्तै चिजलाई मात्रै जीवनको रङ सम्झिएँ !
अहिले खुप्पै खेल्न मन लाग्छ रङहरुसँग
तर ,
कोही आउँदैन मलाई रङ्ग्याउन !
कसैले गिजोलिदिए हुन्थ्यो ।
अहँ !
कुरुप बुढी सम्झेर कसैले फुटेका नजर फ्याक्दैनन् ।
सम्झिल्याउँछु ,
- यौवन
- जवानी
र बैँस त केवल समय रैछ !
कहिल्यै बुढी हुनुपर्ला सोचिनँ
सौन्दर्य नासिजाला कहिल्यै हेक्का भएन
गालामा मुजा पर्लान् ठानन् !
मातृत्व अनुभव नगरी
कसैको रुपमती नभई ,
कसैको रुपसी स्वास्नी नभइकनै पनि
नारी सौन्दर्यको
हिमशिखर ' स्तन ' झोल्लिदा रैछन्
"कोही त आउ ,
मलाई बेस्मारी गिजोल
मलाई यौवनको तृप्त समयमै फर्काउ !", चिच्याउँछु फगत-
फगत !
कसैले दृष्टि फ्याक्दैनन्
बरु बहुलाई आइमाई भनेर अपहेलित गर्छन् ।
कसैले भन्छन् , "विचरा बुढेसकालमा छोराछोरीले
नहेरेपछी बहुलाएकी हुनुपर्छ !"
कसरी भनुँ यो सारा संसारलाई
मैले छोराछोरी जन्माउन आवस्यक ठानिनँ
मातृत्व बुझिनँ !
मात्र ,
प्यार खोज्नेहरुलाई केवल भमरा सम्झेँ !
अझ नारी अस्मिता लुट्ने गिद्द सम्झिएँ ।
अहिले सद्दे छु म !
बरु उबेला बहुलाएकी रैछु ,
बहुलाउन
कपडा फ्याकेर नाङ्गै हुनुमात्र रहेनछ !
अश्लील वचन बोल्नुमात्र बहुलाउनु नरहेछ !
- प्रेमी र प्यासी छुट्याउन नसएकेर
बहुलाएकी रैछु !
- यौवन नबुझेर बहुलाएकी रैछु !
- प्यास दबाएर बहुलाएकी रैछु !!
हो ,
समय घर्किसकेछ !
मैले चाहेर पनि कसैले मलाई अगाल्दैनन् अहिले ,
कसैले सिउँदो रङ्ग्याउदैन् !
"सिउँदो ?"
कोहि बाचेको प्रमाण सम्झिएँ र ठुलै बोझ सम्झिएँ !
कुनै समयको प्रेमी त्यागेँ
- बाको इज्जतको लागि
- समाज , संस्कृति र परम्पराप्रती
- परम्पराको दलिन भत्काउने साहस गरिनँ !
बा को प्रतिष्ठालाई शिरोपर गर्दै
उसलाई पर्गेलेँ !
अहिले त छैन उ यस लोकमा ,
सायद मेरै अघिल्तिर हुँदोहो त
पुरै-पुरै मायाले अगाल्दोहो !

        ०००

Sunday, May 10, 2020

लिची - संघर्ष क्षेत्री

अहिले बुटवलमा निक्कै गर्मि  छ,
म काठमाडौं फर्कने तर्खरमा छु । ठेलामा दाम्मी-दाम्मी लिच्ची, आँप, स्याउ र केरा लगायत अन्य फलफूलहरु बेचिरहेछन् थुप्रै व्यापारीहरु, मैले एउटा बाजेसँग किनिगएँ, लिच्चीका दाना।

एक-दुई दाना चपाउने मन भयो, लिच्चिको !
प्रान लिच्चि ड्रीङ्क मलाई मन पर्दैन । ताजा लिच्ची चपाइदिऊँ न त भनेर एक पाउ किनि गएँ ।

थाहा छैन,
सुन्तला, लिच्ची, काफल, आँप लगायत फलफूल व्यापारीहरुले ती फलफूलको हाँगै भाचेर ल्याउछन्, फलफूल फ्रेस देखाउने उद्देश्य हो वा अरु केहि ?
र यतिबेला बुद्धिसागरलाई सम्झिन पुगेँ !

डाँफे नाचेर,
फूल कहाँ फूल्छ र हाँगै भाचेर !

दुई वर्ष अघि हुनुपर्छ सायद !
बुटवलबाट काठमाडौं फर्कने बेलामा फेसबुक पोस्टमा यस्तै लेखेको थिएँ । म हिडिरहन/घुमिरहन रुचाउने मान्छे । काठमाडौंबाट पश्चिमको पोखरा, बुटवल र नवलपरासी मेरा बाक्लो गन्तव्यका ठाउँहरु हुन् । अझ सुन्दर सुदुरपश्चिमको धनगढी, महेन्द्रनगर र मध्यपश्चिमको दाङ लगायत नारायणगढ, हेटौंडा र पुर्वको इटहरी, धरान र बिर्तामोड पनि मेरा नियमित गन्तव्यमा पर्ने ठाँउहरु हुन् ।

मलाई एक किसिमको फाइदा पनि छ ।
नेपाली उखान "पशुपतिको जात्रा सिद्राको व्यापार" भनेजस्तै । घुम्नै भनेर हिड्नुभन्दा पनि त्यतै आफ्नै व्यवसायिक काम बोकेर हिडेपछि काम पनि हुने र घुम्न पनि पाइने । अहिलेसम्म यस्तै गर्दै पनि आइरहेको छु । दुई वर्षअघिको बुटवल यात्रा पनि त्यस्तै मध्येको एक थियो ।

बुटवलको नयाँगाउँ अवस्थित न्यू स्ट्यान्डर्ड बोर्डिङमा तीन दिने एउटा तालिमको कार्यशाला सकेर फर्कने क्रममा थिएँ । व्यवसायिक काममा व्यवसायिक नै बन्न मनपर्छ मलाई । कमाउन गएको बेला मलाई आफन्तकोमा पाहुना लाग्न पनि अलिक दकस लाग्छ। त्यसैले होटलबाट चेक आउट भएर निस्किएँँ । बसको टिकट काटेर टहलिन थालेँँ । काठमाडौंमा जस्तो चिया संस्कृति पनि उस्तो छैन बुटवलमा । बरु सुपसहितको म:म भने छोड्न मन लाग्दैन । साथिहरु आक्कलझुक्कल भेट हुन्छन् । हुन त उनीहरु पनि आफ्नै काममा व्यस्त हुँदा हुनन् । जब बुटवलको गाडी चढेर बर्दघाट या त दाउन्ने पुगेपछि फोन हान्छ्न्, "भेट्नुहुन्थ्यो गइहाल्नुभएछ/गइहालिछस् भनेर !"

किन-किन मलाई स्वाङ पार्ने मान्छे फिटिक्कै मन पर्दैन ।
त्यसैले एकाध बाहेकलाई तत्-तत् ठाउँमा आए/गएको खबरै गर्दिनँ । यो मेरो एउटा आदत पनि भइसक्यो । कसैले भेट्न आउँछु भन्दै यस्तो बानी गर्नु एउटा अपमान मात्रै होईन, उपहास हो । मोबाइलमा टन्न भिडियो डाउनलोड गर्‍यो मन भए हेर्‍यो नभए कानमा एयरफोनको ठेडी कोचेर मस्त मुडमा हिड्नुको मज्जा बेग्लै हुन्छ । कसैले किन कसैलाई कुराएर आफ्नो अभिमान बढेको महसुस गर्छ ? आफू जति अग्लो छु भन्छ, उत्तिकै खाडलमा जाकिने मात्रै नभएर सग्लो नरहनुको प्रमाण पनि हो !

ह्या फेरि म कता-कता बहकिएँँ क्यारे !
माफ गर्नुहोला शिर्षकमा "लिची" जस्तो गुलियो राखेर नपाकिसकेको कोक्याउने टर्रो आँप जस्ता मान्छेका कुरा गरेछु । अँँ कतिपय मान्छेलाई आँप जस्तै भएर हो या किन हो, आँपे भन्छन् नि ! किन होला,तपाईंले बताउनुहोला है !

अब शिर्षक अन्तर्गतकै विषय प्रवेश गरौँ !
मेरो जिज्ञासा थियो, व्यापारीहरुले लिचीको हागै भाचेर ल्याउनु ताजा देखाउन मात्रै होला कि ? अझ मन कुडिन्थ्यो, यसरी हागा भाचेर आगुन साललाई सत्यनास हुँदैन र ? तर त्यस स्टेटसले एउटा जानकारी भने दियो मलाई । लिचीको हागा भाच्नै पर्ने रहेछ । त्यस स-सना हागामा अर्को वर्ष फल लाग्दैन । र हागा नभाचे फल पनि उस्तो लाग्दैन । फलफूलको रुखका हागा भाच्नेहरु भन्दा अझ बढ्ता अपराधी हुन्छन्, मानवीय सम्बन्धका हागा भाच्नेहरु । 

"ल आउँदा मलाई दुई-चार किलो लिची ल्याइदिनु !"
कमेन्टमा यति लेखिसकेर मैले पूरा पढ्न नभ्याउँदै उसैको फोन आयो ।
"कसरी छ लिची त्यता, मलाई ल्याइदिनु म यता आएर पैसा दिन्छु ।", यसो भनेपछि अब परेन फसाद ?

लगिदिनु आफ्नै जिउ गह्रौं लाग्ने, नलगिदिनु यति काम पनि मानेन भन्ने हुने । फेरि कहिलेकाहीँ आफैले पनि काम अह्राउनुपर्ने ।
"ल धेरै त होईन दुई किलो चाहिँ ल्याइदिन्छु है !", यति भनेर फोन राखेँँ । आफैले दु:ख बेसाएकै थिएँ, लागे अलिक राम्रो लिची खोज्दै ठेलातिर !
आफ्नो लागि दुई किलो र उसको लागि दुई किलो गरि चार किलो लिची किनेर पुर्ववत ठाउँमा फर्किएँँ ।

गाडी थियो बेलुकीको सात बजेको ।
म सँग थुप्रै समय थियो । त्यसैले सधैं बस्ने गरेको होटलमा ब्याग र सबै सामान राखेर हान्निएँ सिद्धबाबातिर । तिनाहुँँ खोला आफ्नै गतिमा बग्दै थियो । बुटवल पावर कम्पनीको ड्याम हेर्दै टोलाएँँ । यहाँ ड्याममा पानी थुनिएजस्तै मान्छेका मनहरु पनि यसैगरी थुनिएका छन् ।

सायद थुनिनु बाध्यता भन्दा पनि एउटा रहर बनिदिन्छ, प्रेममा । म पनि यस्तै उसको मनमा थुनिएको थिएँ कि ?

खयर जे होस्,
हामीजस्ता कवि, लेखकहरुलाई जाबो एउटा खोलाले, एउटा अक्करे भीरले पनि मनको तलाउमा कता-कता लैजान्छ । यसैमा रमाउने एउटा लत नि ! हुन त लतको तलतल नै पछि गएर आदत बन्छ ।
सम्झिदै जाँदा ऊ, ऊ, ऊ सप्पैलाई सम्झिन पुगिने !
कसैलाई किन आरोपित गर्नु ? जोसँग जति मिठा पल बिताइयो तिनै पल भविष्यका खुट्किला न हुन्, तिनै खुट्किलाको बिगतका अनुभवहरुले सायद मरुभूमिको यात्रा तय गर्न पनि बल पुग्ला ।

मोबाइल हेरेँँ !
सवा ६ बजेको थियो, बेलुकीको । त्यसपछि अटो चढेर फर्किएँँ । बसपार्क । गाडी लाइनमा आइसकेको थियो । होटलबाट ब्याग लिएर बसमा सामान राखेर ओर्लिएँँ । उखुपात गर्मी थियो । गाडी गुड्न थालेपछि चढेँँ ।

गाडिमा निद्रा नलागेपनि जबर्जस्त निदाउने कोशिश गर्छु ।
तर सक्दिनँ । गाडीमा कतिपय गफ गर्न रुचाउने मान्छेहरु हुन्छन् । कुराको रहनी मात्रै राखिदिनुपर्छ गाडी त एउटा सभा/सम्मेलनजस्तै बन्छ । मात्रै लास्टतिरका आधा सिटका मान्छेहरु उस्तै मनका हुनुपर्छ ।

बिहानको पाँच नबज्दै कलङ्कीमा ओर्लिएँँ ।
त्यसपछि रुममा पुगेर सबैभन्दा पहिले आमालाई फोन गरेँ, काठमाडौं पुगेँँ भनेर । त्यसपछि उसलाई फोन गरेँँ । उठाई । कलेज जानू छ बाबै भन्दै थिइ !
"काठमाडौं आइपुग्नुभो ?"
"अँँ !"
"ल म कलेज सकिएपछि फर्कन्छु बालाजु बाइसधारामा भेटौँँ ।"
"हुन्छ ल म सुत्छु ।"
"ल हजुरलाई गुडनाइट !", यति भनेर फोन राखी ।
    
                        ०००

बिहानको साढे ९ बजे फोन आएर ब्युझिएँँ !
त्यसपछि नियमित काममा त फर्कनै छ । खाना बनाउन लागेँँ । खाना खाइसकेपछि एउटा स्कुल जानू थियो । निस्किएँँ । स्कुलमा भेटघाट सकेर फर्कदै थिएँ । त्यसपछि आफूले पढेको क्याम्पस त्रिचन्द्रतिर लागेँँ । त्यता जानुको दुइटा प्रयोजन हुन्छन् आजभोलि १. उहिलेका सहपाठी जो राजनीति गर्छन्, उनिहरु भेटिन सक्छन् । २. पिसाबले च्याप्यो, कलेजको ट्वाइलेट्मा पिसाब गर्नु ! तपाईंलाई पक्कै हाँसो लागेको हुनुपर्छ । पिसाब फेर्न पनि ट्वाइलेट ?
हो त ! कि त यस्तै कलेजको ट्वाइलेट कि त सुपरमार्केटको ट्वाइलेट गइन्छ नजिकमा परे ! गन्धले नाख छोप्नु कि .... के पब्लिक ट्वाइलेटहरु पनि गतिला छैनन् नि त ! अर्को कुरा पैसा जोगाउनु पनि  त पर्‍यो ।

                    ०००

मोबाइल बज्यो ।
हेरेँँ उसैले फोन गरेकी थिइ ।
"कता हुनुहुन्छ हजुर ?"
"म त्रि-चन्द्रमा छु, तिमी ?"
"म रिङरोडको गाडी चढेँँ, हजुर त्यतै आउनुस् न !"

म गाडी चढेँँ बालाजुको ।
म लैनचौर नपुग्दै दुई पटक फोन गरि । कुरिराछु भनेर ।

पछि रिसाउदै फोन गरि ।
"म घर गएँँ । तपाईं जहिल्यै ढिला गर्ने ! शेषमती आउनु सधै खाजा खाने गरेको रेस्टुरेन्टमा भेटौँँ ।"
म बालाजु पुगेर फेरि शेषमतीको गाडी चढेँँ । उसको घरनजिकैको रेस्टुरेन्ट पुग्दासम्म ऊ आइपुगेकी छैने । सायद पालाको पैचो हुनसक्छ ।

एकछिन पछि आइपुगी ।
उसको रिस मर्‍यो एकैछिनमा । अनि सधैं खाजा खाने रेस्टुरेन्टमा छिर्‍यौँँ । खाजा पनि प्रायः उस्तै हुन्थ्यो । सुरुमा हट लेमन अनि चिया र भेज म:म !
"म:म पनि भेज खान्छन् ? भेज म:म त म:म नै होइन, उसिनेको समोसा हो ।" भन्ने मान्छे उसैको संगतमा भेज म:म पनि ठिकठिकै लाग्थ्यो ।

उसलाई ल्याइदिएको लिची दिएँँ ।
"वाओ !", ऊ चकित भइ !
सायद ठट्टामै भनेकी थिइ । मैले ल्याइदिएँँ । पैसा दिन खोज्दै थिइ । मैले समाइनँँ । 

                   ०००

दिन पनि रमाइलो थियो ।
घाम लागेको थियो । छिटपुट देखिन्थे बादलका टुक्राहरु ! रेस्टुरेन्टबाट निस्किएर बालाजु जाने भनेर निस्कियौँँ । भो त्यति टाढा नजाने बरु त्यहाँ माथी जाऔं भनी !

बालाजुको अस्टनारायण पिक्चर्स भन्दा अलिक पर गयौं ।
एउटा रुखको हागा थियो । रोडको नजिकै त्यहीँ बसेर लिची खान थाल्यौँँ । मैले खान्न भन्दा उसले कहर गरेपछि एक दुई दाना खाएँँ । उसले पनि त्यस्तै ४/५ वटा जति खाएकी हुँदी हो । 

उसको फोन आयो । 

ममि आउनुभो !
ममिलाई लिन जानुपर्छ भन्दै थिइ ऊ । मामाघर जानुभाछ भन्थी । त्यसपछि हामी फर्कियौँँ । बाइपास नपुग्दै पानी पर्‍यो । हुन त मैले झोलामा राखेको थिएँ, छाता ! तर निकालिनँँ । उसले आफ्नो छाता उघारी । हामी उसैको छाता ओढेर ओतियौँँ । 

फेरि अर्को शनिबार भेटौँला !
हजुर पनि गाडी चढ्नुस्, म ममिलाई लिन जान्छु भनेर मलाई माछापोखरीबाट गाडी चढाएर फर्किइ !

                      ०००

म कलङ्की आइपुग्दा पानी रोकिएको थियो ।
छाताबोराल्नु पनि परेन । सिधै रुममा पुगेर चिया बनाउन लागेँँ ।
उसले फेरि फोन गरि ।
"हेर्नु न ! हजुरले ल्याइदेको लिची ट्याक्सीमा छुटेछ ।", एकै स्वासमा भनी !
"केही छैन, फेरि खाउँला नि !", मैले यस्तै भनेँँ ।
पछाडी उसको ममि भन्दै हुनुहुन्थ्यो,
"तेरो पुर्पुरोमा खानु नलेखेको छोरी । अब ट्याक्सीवालाले खानेभो त्यत्रो लिची !"

                       
०००



Monday, April 27, 2020

जोडी आँखालाई जुडुवा केटी - संघर्ष क्षेत्री

पट्यार लाग्दो लकडाउनलाई छल्दै एक फन्को लगाएँँ !

मलाई पुग्नु कहिँ थिएन ।
र पनि मेरो आँखालाई पुग्नु थियोे जहितहिँँ । दुईटा बुढाहरुलाई पछि लगाएर कलङ्की चोक पुग्ने उत्कट अभिलाषा बोकेर खुम्चिएको दैनिकीलाई पर ठेल्दै, मेरो मन र तनलाई कुँजिनबाट जोगाउनु मात्रै थियो । निरुदेश्य काम गर्नुमा पनि मज्जा लाग्थ्यो कुनै बेला । तर आजभोलि त्यसरी बेपर्बाह कुद्न कुन्नि केले अठ्याउँँछ । जसरी दाम्लोले बाध्छ वस्तुभाउलाई मालिकले, त्यसैगरी अठ्याउँछ मेरो मन !

मन र मस्तिष्क पनि एउटै पार्टीभित्रको फरक-फरक गुटझैँ लाग्ने । मनले गरेको काममा मस्तिष्क धावा बोल्ने मात्रै नभएर मस्तिष्कले मनको भावनामा ठेस पुग्ला भनेर कहिल्यै नसोच्ने ! के तपाईंहरुको मन र मस्तिष्कको द्वन्द्व पनि यसैगरी खेल्ने गर्छ ?
आ जेसुकै होस्,
यसै भनेर खुट्टा चाल्न खोज्दा ठ्याक्कै लकडाउनको परिपालना गर्न खटिएको लाठीसहितको पुलिसझैँ शासक बन्न खोज्छ, ओखरझैँ जेलिएको खप्परभित्र बस्ने एकजोर गिदि ! मलाई कहिलेकाहीँ आफ्नै ठिस दिमागसँग रिस मात्रै होईन आन्दोलनको ज्वार ल्याइदिउँँझैँ लाग्छ ।

"नियम पालना गर्ने/गराउने त सेवक/नोकर न हुन् !", शासक गिदिले आफ्नो तुजुक प्रदर्सन गर्न खोज्छ ।
मालिक र शोषक उस्तै लाग्लान्, मालिकलाई नोकरको अस्तित्वको रखवारि गर्छ तर त्यहीँ शोषकलाई मतलब हुन्न । सायद शोषणको उच्चतम् भोग गरुञ्जेल उसले मिलिक्कै बिर्सन्छ, जुम्राले पनि कसैको परान् रहुन्जेल हो साथ दिने । उ पनि अन्ततः फड्किन्छ । 

ह्या, लेख्दा-लेख्दै कहाँ-कहाँ भड्किन्छन्, यी औंलाहरु पनि !
चोक पुग्दा-नपुग्दै एउटा लाठी  समाएको जवानले सम्झायो, फनक्क फर्किएँँ । 

"ऊ हेर्नुस्,ती बाजेझैँँ घरको छतमा कुद्नुस्स् न !",
अलिक पल्तिरको एक छतको घरको छतमा कुद्दै गरेको मान्छेलाई देखाउदै पठायो त्यस जवानले ! 
"भाइलाई पनि गाह्रो छ है, माथिको आदेस मान्नै परो !", यसै भनेँँ । कुममा सामान्य हवल्दारनै किन नहोस्, एउटा फित्ता लगाएको भए उसको फित्ता कुर्लदो हो । माफ गर्नुहोला, फित्तावाल हवल्दार ! तर सिपाही केटोले सायद आफुलाई सहानुभूति मिलेको ठान्यो कि ? ह्या, जेसुकै ठानोस् मलाई के मतलव ?
हुन त देश र दुनियाँको ठेक्का लिएकाहरु त कसैको मतलव गर्दैनन्, म बबुरो के गर्न सक्छु ?

ठिक यतिबेला देशको ठूलो पार्टिका नेताहरू शक्ति बाडफाडमा व्यस्त छन् । 
हुन त उनीहरुको पनि पेशा/व्यवसाय के भनेपनि त्यहीँ हो । हामी युवाहरु थपडी बजाउनमै मस्त भएपछि वयले साथ नदिएपनि पुस्तैनी सम्पत्ति भाग लगाएझैँ भागवण्डामा व्यस्त छन् !

तपाईंहरुलाई पक्कै म सँग रिस उठेको हुनुपर्छ !
हेप्नी, दुई तिहाईको सरकारलाई हेप्नी ? भनेर चर्चित भएका निवर्तमान मन्त्रीलाई सञ्चार/प्रेससम्बन्धि कानुन ल्याउन उद्दत् उनलाई जोक गरिएको एउटा प्रसङ्ग सम्झन्छु,
"केटीको नाङ्गो फोटो राखेर भित्र अर्कै राख्नी, झुक्याउनी ?" बाहिर "जोडि आँखालाई जुडुवा केटी" राखेर भित्र अर्कै गन्थनमा अल्मल्याउनि ? अहिले तपाईंहरुलाई यस्तै लागेको हुनुपर्छ । 

हुन त म पनि खाना पकाउन छाडेर यता ब्लगमा भुल्दैछु । अझ सिक्दैछु, तपाईंहरुले मलाई एउटा बाटोमा ल्याउन आफुलाई प्रतिक्रियावादी बन्नुहुनेछ भनेर एक भारी आशाको त्यान्द्रो बोकेको छु ।

अब आउनुस्, खास विषयतिर !
राम्रोसँग डुल्न नपाएको मलाई लगभग घर आइपुग्न लाग्दै गर्दा आँखामा लगभग जुडुवाजस्तै केटी देखिए । कलेजको विद्यार्थी छौञ्जेल र विवाह नगरुञ्जेल आफूलाई कलिलै छु भन्ने भ्रम बाकी रहदो रैछ ।

ठ्याक्कै १२/१३ वर्ष अघिको आफुलाई पाएँँ ।
अलिअलि आफुले मन पराएकी, अलिअलि उसले मन पराएकी उसँग अलिअलि ठाकठुक परेपछि पुस्तकपसलमा गएको बेला अर्कि एक केटीले मन भड्काएकी थिइ । अहिले त उस्तो भड्किन्न । भड्किन खोजे आफ्नै मनलाई कर्फ्यू लगाएरै पनि नियन्त्रण गर्न खोज्छु ।

मलाई १२/१३ वर्ष अघिको स्मृतिमा रमाउने मौका मिलेको अवस्था जो छ, तपाईंलाई उनीहरुको सुन्दरता(जो मेरो मनले खिचेको )बारे किन वर्णन गरुँ ?

हुन त आजसम्म जिन्दगीमा जम्मा तीन जना राम्रा केटि देखेँँ । सम्बन्धमा रहदै गर्दा पनि मेरा नजिकका केटीसाथिहरुलाई पनि यो कुरा शेयर गरेको छु । सायद उनिहरुको मन जल्दो हो ? जलोस्, म दमकल होईन निभाउन ! मनमा यस्तै घमण्ड हुन्थ्यो । तर जिन्दगीमा यसबारे कहिल्यै पश्चाताप गरिएन । सायद गरिन्न पनि ! ती तीन राम्रा केटीमध्ये एउटा केटी काठमाडौमा जम्मा दुइचोटी देखेको थिएँ, त्यसपछि देखिनँँ । दोस्री थिइ, एउटा कामको शिलशिलामा चितवन बस्दा म्याजिक गाडिमा भेटिएकी थिइ । अझ भनौं न ठोकिएकी थिइ । झुक्किएरै सहि उसले टिलिक्कै टल्किएको जुत्ता कुची । त्यहीँ केटीको बारे लेखेको कविता कता पो छ खोज्नुपर्नेछ ।

तेस्रो केटीको कुरा नगरौ भो ।
किन ? किनकी त्यसबारे कुरा गरेर फाइदै छैन । आक्कल्झुक्कल भेटिने त्यस केटिबारे पछि कुनै बेला तपाईंहरुसँग चियाभेटमा गफ गरौँला । फेरि लेख्दा-लेख्दै कता-कता बरालिएँँ ।

ती जुडुवा केटी देख्दा मलाई पुरानै झल्को आएको सत्य हो ।
निलो जिन्समाथी कुर्था लगाएकी ती केटीहरु कति राम्रा हगि ?सायद मेरी आमाको रोजाइको बुहारी पनि यस्तै हुन्सक्छे ! 

धन्यवाद !
😍😍

Sunday, April 19, 2020

फकिर - कविता - संघर्ष क्षेत्री

फकिर

( कविता )


प्रभु ,
माफी पाउ !
मैले बाचेर त सुख दिइन-दिइन मरेर पनि दुख दिए जहानलाइ !
प्रभु मलाई स्वर्गको द्वार खोलिदिनुस ! एक जड्याहाले
बिन्ती बिसायो मेरो अघिल्तिर , छोड तेरो बकवास
म तेरो मुक्तिदाता होइन । घाट-घाटमा डुलिहिड्ने एक
फकिर हु ! मलाई बडो दुख छ प्रभु , कम्तीमा मर्ने
बेलामा आफ्नु लास छोप्ने कात्रो किनेर मर्न चाहन्थे । दुई
गाँस खाएकै थिएँ गिट्टी कुटेर भएपनि , उसले सबुत प्रमाण पेस
गर्यो ! मैले उसलाई सुस्तरी भने
देश तिमी हामी जस्ता भुइफुट्टाहरको देश हुदैन ।
आफ्नु मफ्लर दिए उसको लास छोप्न ।
एउटा बलत्कारी लास उभियो
र भन्यो
मैले नगर्नु गरे प्रभु
मलाई स्वर्गमा थोरै ठाँउ दिनुभो भने म गल्ती सच्च्याउन
चाहन्छु । मेरो कन्सिरी तात्यो ,
यो सालेलाइ सिधै टिचिङ अस्पताल लैजाउ अन्य मुर्दालाइ
आदेश दिए
यस बलात्कारीको लिङ्ग भेदन गरील्याउनु ,
कम्तिमा स्वर्गमा त शान्ति छाउला ! अनि एउटा लास
हातमा आफ्नु मुटु लिएर उभियो मेरो अघिल्तिर ,
सोधेँ - " के हो तिम्रो समस्या " म किड्नी बेच्न बाध्य भए !
कसरी ????
उसले रुदै भन्यो । एपेण्डिक्सको अप्रेसन भन्दै
किड्नी निकालियो ।
मचुपचाप चुपचाप खाली कागजमा दस्तखत गर्न
बाध्री पारिए ! बाच्न मन लगेन र
आरुका फूलसङ्गै फल्न पुगे । यो स्वस्थ मुटु छ ।
काम लाग्न सक्छ मेडिकल
साईन्सका विद्यार्थीका लागि ! तर मुटुको चाल बन्द
भैसकेको थियो । अन्त्यमा ,
एउटा महिला लास आयो ,
मेरा बा आमाको बैसखी बन्न बिदेशिएकी थिए ।
बिदेशिले त मेरो यौवन लुटे-लुटे देश फर्केपछि ।
अध्यागमनका देशका रक्षक/देशका राष्ट्र सेवकले
पनि छोडेनन ।
म सँग भएको
हातको बाला/सिक्री/ र यो लगेज पुर्याइदिनु ।
मेरि आमाको कृयाखर्चको लागि ! सबैलाई भने म के नै गर्न
सक्छु र??? म त एक घाट-घाटमा घुमीहिड्ने फकिर हुँ ।
सबै मुचुल्का तयार पारेँ । अब नेपाल सरकारलाई बुझाउनुछ ,।
सकुशल !!!!
२०७१/०३/१०.
साझ ८:१५
घाट घाटको भुमी
पशुपति आर्यघाट बाट ।।

Wednesday, April 15, 2020

अन्तिम साँझ - कथा - संघर्ष क्षेत्री

फुरुङ्ग थिइ ऊ ।
गाउँ बाट उसलाई भेट्न उसकी आमा आएकी थिइन् । छोरीको लागि भनेर बिहान-बेलुकीको दुधको कुराउनी,तरकारी र अन्य खानेकुरा कोसेली ल्याएकी थिइन् ।

"मम्मी खबरै नगरी आउनुभएछ त ?", लाडिदै भन्छे आमालाई ।
"तँँ लाई भेट्न पनि अब खबर गरेर आउनुपर्ने ?"
लाडिदै गरेकी छोरीलाई अलिक ठूलो स्वरमा हप्काएकी थिइन पार्वतीले ।
"बरु भन्, कस्तो छ तेरो पढाई ?,
घरतिर सबैलाई राम्रै छ । सहर पसेपछि गाउँघर नबिर्सी तैंले, त्यसैले आएकी म !"

भुइँ तलाको कोठा, झ्यालको छेवैमा डबल बेडको बिस्तरा थियो । झ्याल खोलेर पर्दा लगाइन् पार्वतीले । थकाइले गलेकी उनी यसो बिस्तारामा पल्टिइन् । उता सिर्जना भने टिभीमा हिन्दी सिरियलमा मस्त थिइ । सिर्जना, उसकी साथी कमलासँग बस्थी । कमला स्टाफ नर्स सकेर हस्पिटलमा ड्युटी गर्थी । ऊ भने प्लस टु को फाइनल परिक्षाको तयारीमा थिइ । त्यस साँझ पनि कमला ड्युटी गएकी थिइ ।

सधैं अबेर खाना खान्थे उनिहरु ।
तर आमा आएको दिन उसले अलिक छिट्टै खाना तयार गर्न लागि । खाना बनाउदै गर्दा बत्ती निभ्यो । लोडसेडिङको नियमित तालिका थिएन । जतिबेला पनि बत्ती जान सक्थ्यो । एकैछिनमा आउँथ्यो बत्ती । तर त्यस दिन निकैबेर बत्ती आएन ।
"कतै बिजुलीको पोल ढलेको हुनुपर्छ !", आमाछोरीले यस्तै अनुमान् लगाए ।

निकैबेर बत्ती नआएपछि सिर्जनालाई निकै छट्पटी भयो । उसले कसैलाई फोन गर्न खोज्दै थिइ । तर लगातार फोन डायल गर्दा सम्पर्क हुन सकेन भन्ने आवाजले आजित भएकी थिइ । आमालाई बिस्तारामा सुताएर उसले आफ्नो लागि अर्को झ्याल नजिकै भुइँमा बिस्तारा लगाइ । निद्रा परेको थिएन उसलाई । किनकि उसले फोन गर्न खोजेको मान्छेलाई फोन लागेको थिएन । जबर्जस्त निदाउन खोजी । आँखाको ढकनी जोडिएनन् निकैबेर । उसलाई लाग्यो, 'यतिखेरसम्म नआएपछि त्यो मान्छे आज घर आउँदैन ।' यतिकुराको निर्क्योल गरेपछि निदाउने प्रयास गरि ।

त्यो साँझ पनि उसले ढोका खुल्लै राखेकी थिइ ।
यस्तो होला भन्ने पनि उसलाई थाहा नभएको होईन । त्यसैले उसले साकारलाई निरन्तरको प्रयास गरेकी थिइ । फोन लगाउन । तर त्यसदिन साकारलाई फोन लागेन । साकार कतिबेला कहाँ जान्थ्यो, के गर्थ्यो उसलाई केही थाहा थिएन । उसलाई त यतिमात्र थाहा थियो कि बेलुकीको ९ बजेपछि जहाँ पुगेको भएपनि कोठामा आउँथ्यो । ९ बज्यो आएन । साढे ९ भयो आएन । त्यसपछि उसले मनमनै निर्णय गरि ऊ आज कतै साथिकोमा बसेको हुनुपर्छ । त्यसो भएको भएपनि फोन गरेर जानकारी गराउनुपर्ने । कतै उसको फोन लागेन कि ? मनमा अनेक कुरा खेलाउदा-खेलाउदै झपक्क निदाई ।

"क्यार्न मोर्चे यो राँडी ?"
पार्वतीलाई लाग्यो, छोरी सपनाएर गिजोल्न आइ ।भुइँमा छुट्टै सुतेकी छोरीले नराम्रो सपना देखेको हुनुपर्छ । तर त्यतिबेलासम्म सिर्जना ब्युँझिसकेकी थिइन । जब पार्वतीले टर्च बालेर हेरिन्, अनि पो अचम्ममा परिन् । छोरी त आफ्नै बिस्तारामा सुतेकी छे । आँखा मिच्न थाली सिर्जनाले । ऊ जुन घटना घट्ला भनेर चिन्तित थिई  । आखिर् भयो पनि त्यस्तै ! उसले चाहन्थी, यस्तो घटना नहोस् । तर भयो त्यस्तै । उसले अनेक उपाय अपनाउदा-अपनाउदै घटना घट्न पुग्यो । उसले ढोका खुला राख्नु नै गल्ती भयो । हुन त सधैं नै ढोका खुला राख्थी । त्यस दिन ढोका बन्द गर्न नबिर्सेको भए यस्तो हुने थिएन । 

सधैंझै सिर्जनाको मादकतामा रमाउने साकार मूर्ति बन्यो ।
केहि बोल्न सकेन ऊ । साकारकै स्वागतको लागि ढोका खुला राखेकी हुन्थी सिर्जनाले । उनीहरुको मौन सल्लाह थियो सायद । सिर्जानाको ढोका खुलै भएपछि ऊ एक्लै हुनेछे कोठामा । अनि यौवनको प्यास मेटाउनेछन्, एकापसमा । उसले फोन गरेर जानकारी गराउन नचाहेकी होईन । साकारको फोनमा सम्पर्क हुन सकेन । ढिलो हुन्छ भन्ने थाहा हुँदा-हुँदै पनि उसले सिर्जनालाई जानकारी गराउन सकेन । साकारको मोबाइलको ब्याट्री सकिएर स्विच अफ भएको थियो ।

"क्यार्न मोर्चे यो राँडी ?"
सधैंजसो सिर्जनासँग रमाइरहेको साकारको अगाडि एउटा असहज परिस्थितिले गाज्न पुग्यो । त्यस दिन पनि सिर्जनाको घरबाट आमा नआएकी भए सधैको रोमाञ्चकताले निरन्तरता पाउने थियो । पार्वतीको आवाजले साकारले के गर्ने के नगर्ने भन्ने कुरामा अनिर्णित भयो । वातावरण खल्बलियो । झपक्क निदाएकी सिर्जना पनि तन्द्राबाट ब्युँझिइ । सिर्जनाको अनुहार एउटा भयानक डरले लाल-लाल भयो । अझ साकारको अवस्था झनै पिडादायी थियो । लडाउमा हारेको सिपाहीझैँ । चोरी पक्रियो आखिर ।

पहिले त सोचेकी थिइन् पार्वतीले, "छोरी सपनामा हिड्ने बानी थियो, सानोमा । हराएको रहेनछ ।"
जब उनको बिस्तारामा उनिमाथी कसिलो गरि शरीर थिचियो र छोरीलाई गाली गरिन् । टर्च बालेपछि उनको अघिल्तिर एउटा सत्र-अठार वर्षे पठ्ठो देखिन् । ठम्याउनै सकिनन् पार्वतीले । "कतै म सपनामा पो छु कि ?" अलमलमा परिन्, एकैछिन । जब उनले आफ्नो अगाडि मूर्तिवत उभिएको केटोलाई देखेपछि उनलाई बडो रिस उठ्यो । सपना होईन भन्ने निर्क्योल गरिन पार्वतीले । निकै हपारिन पार्वतीले साकारलाई । 

"क्यार्न आइस् यति राती केटीमान्छेको कोठामा ?"
पार्वतीको कडा प्रश्नमा एकैछिन त ऊ मौन बस्यो । पार्वतीले उक्त प्रश्न पुनः दोहोर्‍याइन् । उत्तर नदिइ सुख छैन भन्ने ठानेपछी बनावटी र फितलो जवाफ दियो ऊसले ।
"सि ssss रक् लिन आएको !",
"आउँछ्स्, सिरक लिन !,
पख तँँ लाई भोलि पुलिस बोलाएर चिसो छिडिमा जाक्दा थाहा पाउछस् !"

आमाको पछिल्लो कुराले साकारलाई भन्दा सिर्जनालाई बढी पीडा दियो । उसले सोची, "प्रहरीमा उजुरी गरेपछि, म पनि जानुपर्छ । बरु भोकै बस्नु परोस् तर पुलिसकोमा जानू नपरोस् !" उसले प्रत्यक्षत: नभोगेकी भएपनि ऊ सानै छदा उसको गाउँ हुँदै आएको पुलिसले द्वन्दकालमा एउटा छापामार युवतिलाई पिट्दै हिडाएको देखेकी थिइ । अझ सुनेकी थिइ उसले, 'जब पुलिसको लाठि खाएको मान्छेले जिन्दगीभर केही गर्न सक्दैन ।' अनेक कुरा खेलाई मनमा । यतिबेलासम्म बचेकी छे ऊ । उसलाई आरोपित गरेकी छैनन् पार्वतीले । हुन त आफ्ना छोराछोरी सानै छन्, बच्चै छन् भन्ठान्छन् हरेक आमाबाबुले । मेरो छोरा/छोरी असल छ/छे , उसले नराम्रो काम गर्न सक्दैन/सक्दैने । यस्तै सोच्छन् । अहिलेसम्म साकारलाई दोषी देखेकी छन् पार्वतीले । उनलाई थाहा छैन । जे घटना घट्यो यो सधैं हुन्थ्यो र सल्लाहले हुन्थ्यो भन्ने कुरा ।

पार्वतीमात्र एक्लै बोलेकी थिइन् ।
साकार र सिर्जना दुवै मौन थिए । एकोहोरो गुनगुन आवाजले माथिल्लो तलामा सुतेकी घरबेटी मञ्जुको निद्रा खलबलियो । एकाएक । एकछिन त कोठा बाहिर निस्किएर ध्यान दिएर सुनिन्, भुइँ तलाको गुनगुन आवाज । कोलाहल रोकिने छाटकाट देखिएन । उनी तल ओर्लिईन् ।

"के को गुनगुन हो, यति रातीसम्म ?"
मञ्जुको प्रश्नले एकछिन कोठामा सन्नाअटा पैदा भयो । साकर र सिर्जना झनै भयभीत भए । "घरबेटीले पनि थाहा पाइन् हाम्रो कुरा !" उनीहरुले मनमनै कुरा खेलाए । पार्वतीले साकारलाई दोषी करार गर्दै सम्पूर्ण कुराको बेलिबिस्तार लगाईन । घरबेटी समक्ष ।

"अहिले सुत्नुस् सबैजना । भोलि छलफल गरौँला !"
घरबेटीको कुराले पार्वती मौन रहिन् ।

यति भनेर मञ्जु आफ्नो कोठामा गइन् ।
साकार पनि आफ्नो कोठामा गयो । अंश घटनाबारे छोरीसँग थप कुरा गर्न मन लागेन पार्वतीलाई । निद्रा बिथोलिएको घटनाले पार्वती मस्तसँग निदाउन सकिनन् । उता साकार पनि निदाउन सक्ने कुरै भएन । सिर्जना पनि अब भोलि के के हुने हो भनेर मनमा कुरा खेलाउदै पल्टिई बिस्तारामा ।

साकार र सिर्जनाको बारे घरबेटी मञ्जुलाई थाहा नभएको पनि होईन । "उनिहरुले मञ्जुरीमा गर्छन् भने मलाई के-को टाउको दुखाइ ? म किन बाधक बन्नु उनीहरुको सम्बन्धमा ?" सायद यस्तै सोचिन । उनले चाहेकी भए सिर्जना र साकार दुवैलाई निकाल्न सक्थिन् डेराबाट । तर त्यसो गरिनन उनले । उनले आजभन्दा पन्ध्र-सोह्र वर्षअघिको आफ्नो प्रेम सम्झिइन् । मञ्जुले पनि प्रेम विवाह गरेकी थिइन । उनी पुरानो यादले भिजिन निकैबेर । वर्तमानमा उनको खुशी खोसिएको थियो । उनका पति नेपाल प्रहरीका जागिरे थिए । अर्घाखाँचीको सन्धिखर्कमा माओवादीसँगको दोहोरो भिडन्तमा मारिए । अहिले त उनको छोरा पनि बाह्र वर्षको भएको छ । सिर्जना र साकारबीच आज उत्पन्न भएको परिस्थितिले एकाएक पतिलाई सम्झिन पुगिन् ।

सम्झदा पिडाका आँसुहरु पोखिन्थे ।
एक गिलास पानी पिएर मञ्जु बिस्तारामा पल्टिइन् ।

"कुखुरी काँँ !"
छिमेकीको भाले बास्यो । सिर्जना सधैं ५ बजे ब्युँँझिन्थी । प्रायः बिहानको ५ बज्दा भाले बास्थ्यो । कलेज बिदा थियो १२ कक्षाको अन्तिम परिक्षाको तयारीको लागि ! त्यसदिन उठ्न जागर चलेन । टाउको त्यसै भारी भएको थियो । आमा पार्वती उठिन् । आमा उठिसकेपछि सिर्जना पनि उठि बिस्ताराबाट । भुइँमा लगाएको बिस्तारा पनि उठाएर राखि । मुख धोइ । चिया बनाएर आमालाई दिइ । चिया पिउन मन नभएपनि पिइ आफूल्र पनि । आमाको अगाडी देखाउनु थिएन, "उसलाई केहि भएको छैन ।"

"खाना खाएपछि सबैजना माथी आउनु !"
यति भनेर घरबेटी आफ्नो कोठामा लागिन् । कमलाले सोची, "आज केहि काम होला, अनि बोलाईन् ।" उता साकारलाई पहिल्यै भनेकी थिइन्, माथी आउनु खाना खाएर ।  बिहानको दस बज्यो । खाना पाक्यो । कमला, सिर्जना र उसकी आमा पार्वतीले खाना खाए । खाना खाएर एकैछिन आराम गरेर घरको छतमा निस्किए । साकार पहिल्यै निस्किआकेको थियो । घरबेटीले आमा समूहको बैठक डाकेकी थिइन् । टोलका सबैजसो महिला जम्मा भएका थिए । प्रायः सबैजसो सहभागीलाई बैठकको विषय बताएकी थिइन् उनले । टोलका सबै महिलाहरु जम्मा भएका थिए । महिलाहरुको भेलामा साकार र मञ्जुको छोरा प्रकाशगरि जम्मा दुईजना पुरुषहरु थिए । 

बैठकको विषय प्रवेश गराइन् मञ्जुले ।
सबै महिलाहरुको ध्यान खिच्दै भनिन्,"हिजो राति सिर्जनाको कोठामा गएर साकारले अभद्र र अशिष्ट व्यवहार गरेको भन्ने कुरा छ । यस विषयमा छलफलको लागि आमा समूहको बैठक बस्नु परेको हो ।"

पार्वती च्याँठिइन्,
"सिधै भनिदिनुस् न बहिनि ! खाटमा सुतेकी म माथि हातपात गर्‍यो यसले । मेरो छातीमाथी जबर्जस्ती गर्न खोजेको हो । रातीको समय म बिस्तारामा एक्लै सुतेकी थिएँ । सायद मलाई मेरो छोरी ठानेर जबर्जस्ती गर्न खोजेको हो ।"

पार्वतीको कुरा सुनेर बैठकमा उपस्तिथित एक महिलाले भनिन्, "यस्ता मान्छेलाई घरबाट निकाल्नुपर्छ ।"
कतिपय महिलाले भने, "घरबाट निकालेर मात्रै पुग्दैन । पुलिसको जिम्मा लगाउनुपर्छ ।"

महिलाहरूको पछिल्लो कुरा सुनेर आफूले जितेको ठानिन्, पार्वतीले । उनको अनुहारमा एक किसिमको चमक देखिन्थ्यो ।

अर्की महिलाले भनिन्,
"आवेशमा आएर निर्णय गर्न हतारिनु हुन्न ! पहिला केटा र केटीको कुरा पनि बुझ्नुपर्छ ।"

पहिले सिर्जनालाई सोधे बैठकका सहभागीहरुले, "ऊ पहिले पनि आउँथ्यो तिम्रो कोठामा ?"
सिर्जनाले केही बोलिने । मौन नै बसि । त्यहीँ प्रश्न साकारलाई गरे ।
"पहिले पनि जाने गरेको थियो उसको कोठामा ?"
साकारले भन्यो, "हो जाने गर्थेँँ !"
साकारको कुराले पार्वतीको अनुहारमा देखिएको चमक एकाएक खस्कियो ।
" तिमीलाई उसले जबर्जस्ती त गरेको छैन ?"
सिर्जनाले भनी, "छैन ।"
उसको छोटो उत्तर पछि फेरि अर्को प्रश्न आयो, "जे-जे भयो, सहमतिमा भएको हो ?"
"हो, सहमतिमै भएको हो !", सिर्जनाले स्वीकार गरि ।

एकाएक साकारलाई मात्रै कार्वाही गर्न खोजेका महिलाहरु अचम्ममा परे । उनीहरुको सम्बन्ध हुनुपर्छ । छोरी सिर्जनासँग पार्वती निक्कै रिसाइन् । कमलाले पनि अनौठो मानेर हेरि बैठकको दृश्य !

बैठकले निर्णय गर्‍यो ।
"अब त्यसो नगर्ने । यदि गल्ती दोहोर्‍याएको पाइएमा दुवै जनालाई डेराबाट निकाल्ने भनेर ।"

त्यसको एक महिनापछि परिक्षा सकेर साकारले पनि कोठा छोड्यो । सिर्जना पनि परिक्षा सकेर बिदामा घर गइ ।

  •                             ***



Tuesday, April 14, 2020

मेरो बाल्यकाल


"माइला केलाई पिटिस्, भाइलाई ?"

हेडमास्टरले माइलो दाईलाई हकार्दा उसले हेडसरसँग अलिक डराउँदै जवाफ दियो !
"उसले केलाई पुतुरो खेलाउँछ तो ?", उता ऊ रुन थाल्यो । मास्टरको हप्किले । यता मास्टर र अन्य केटाकेटीहरु हाँस्दै छन् । दाइको थप्पड भेटेको म मास्टतको सहानुभूति र माइलो दाइलाई मास्टरले गाली गर्दा म एउटा जीत ठानेर रमाउँछु ।

 त्यतिबेला सानै थिएँ ।
कट्टु लाउने चलन अझै सुरु भएको थिएन । म भन्दा तेईस महिना ठूलो मेरो माइलो दाइ भर्खर १ कक्षामा पढ्थ्यो । म भने उ सँग पछि लागेर गएको थिएँ । मलाई लाज अझै सुरु भैसकेको थिएन । हुन त म ४ मा पढ्ने बेलासम्म आमाले मलाई नाङ्गै नुहाइदिएको याद छ । दाइको पछि लागेर स्कुल जानू मेरो दैनिकी हुन्थ्यो । सायद मैले त्यसरी आफ्नो गुप्ताङ्ग छुनु हुँदैनथ्यो । उसमा अलिअलि लाजको विकास भएपनि म मा अझै विकसित भइसकेको थिएन । त्यसैले मैले मेरो गुप्ताङ्ग चलाएको हुँदो हुँँ । केटाकेटी बेला म पनि फोहोरी भन्दा अल्छि बढी थिएँ । धुलोमाटोमा खेल्नु, आफ्नो सरसफाइको कुनै मतलब नगर्नु यस्तै कारणले मेरो जिउ चिलाएको हुँदो हो ।

हुन त मान्छेले जति नै आदर्श छाटेपनि चिलाएको ठाउँमा कन्याउन बडो मज्जै मान्छ । म त केटाकेटी न थिएँ । अहिलेजस्तो थाहा थिएन, जहाँतहिँँ त्यसरी कन्याउनु हुँदैन । हो, मलाई लाग्छ एकान्तमा ठाउँ-कुठाउँ कन्याउने जमात लगभग शतप्रतिशत नै छ । तर आदर्शको डिङ हाक्ने जमात छ, "के कन्याएको त्यसरी ?" भनेर हकार्छ ।
हो, यतिबेला खसखस भएको आफ्नै कान कन्याउँदै ब्लग लेख्दैछु । कन्याउनुमा मलाई पनि मज्जै लाग्छ । तपाईंहरु लाई नि ? बाहिरफेर हासोमा उडाए पनि तपाईंले एकान्तमा यो ब्लग पढ्दै हुनुहुन्छ भने पक्कै कन्याउदै हुनुहुन्छ । तपाईंको नचिलाएको ठाउँ पनि चिलाएर आउन सक्छ ।

जस्तो खाजा खाँदा भुइँको टिप्नु हुँदैन भनेर आदर्श छाट्ने तपाईं घरको किचनमा खसेको खानेकुरा सकभर सफा गरेर खानुहुन्छ । कसैले नदेख्ने गरीको अवस्था छ भने, आफ्नै किचन त हो नि भनेर वेवास्ता गर्न सक्नुहुन्छ । सरसफाइ बारे । अँँ खाना विशेषगरी माछामासु पकाउँदै हुनुहुन्छ भने पक्कै चाख्नुहुन्छ । म पनि चाख्छु । साथिहरु पनि छन् भने एउटा प्लेटमा राखेर चखाउछु । तपाईंहरु मध्य कतिपयको मासु चाख्दाचाख्दौ कराही रित्याउने बानी पनि हुनसक्छ । तर त्यसरी कराही रित्याएको अनुभव भने मसग छैन ।
चाख्दा-चाख्दै कराही रित्याउने बानी नभएपनि चाख्न चाहिँ छाड्दिनँँ । खानामा जहिल्यै दाल चाहिने मैले दाल कहिल्यै दाल भने चाखिनँँ । त्यतिबेला मलाई लाग्छ, दाल चाख्यो भने पछि भात खानेबेलामा मलाई मिठो हुँदैन भन्ने जबर्जस्त विश्वास छ । अरु कसैले दाल चाख्न लगाएपनि म दाल चाख्दिनँँ । यो मेरो नितान्त निजी स्वाभाव हो । स्वाभाव स्वाभावैले स्वाभाविक हुन्छ भन्नेमा जबर्जस्त मत छ मेरो । नहुन पनि सक्छ । तपाईंहरुको हकमा ।

"धेरै भात कसरी खान सिकेँँ ?"
त्यसबारे कुनै अर्को ब्लगमा लेखौँला । अहिले बाल्यकालकै बारेमा लेख्न गइरहेको छु । कक्षा १ पनि सुरु नगर्दैको बेलाको कुरा । अँँ तपाईंलाई एउटा कुराको जानकारी गराउनै पर्छ भन्ने लाग्छ मलाई  । मसँग सँगैको एक कक्षा पढेको साथी कसैले पनि एसएलसी दिएनन्  । अझ सात-आठ कक्षा पढेर छाडे । त्यसैले मेरो स्कुले साथिहरु निक्कै कम छन् । प्रायः उमेरले पनि धेरै फरक नभएर होला, मेरो माइलो दाइ नै मेरो साथि थियो ।

भलै अहिले सम्पत्तिको तुजुक देखाएर अलिक तुच्छ व्यवहार देखाएपनि उँसगको साहचार्यलाई बडो सुनौलो काल मान्छु म ।

सात कक्षा पढ्दै गर्दा एउटा किराना पसलबाट क्याल्कुलेटर चोरेर मास्टरलाई बेच्ने चिन्ते पछि कुखुरा चोरीमा पक्डिएपछि स्कुल जान छाड्यो । हिसाबमा ऊ तगडा नै थियो । चोर्नमा पनि सायद । अँँ, सँगै एक कक्षा पढ्ने साथी अमृतले गाउँका एकजना 'गोजे'बाका कुखुराका चल्लाको पुजा गर्ने भन्दै भताभत मारेपछि ऊ अर्को गाउँको स्कुलमा पढ्न थाल्यो । कक्षामा जहिल्यै तृतीय स्थान पाउने म, म सँगैको कक्षामा प्रथम हुने जबुनी चार कक्षा पढ्दा-नपढ्दै बिहे गरिदिए घरकाले । उसको भाइ रामे पनि कुन्नि कति कक्षा पढ्दा फेल भएर दिल्लीतिर हानीयो । "जापानी" उपमामले चर्चित एउटा भान्जा भाइ पर्ने प्रकाश पढ्ने इच्छा हुँदा-हुँदै पढ्न पाएन । अँँ उसका बा हराएका थिए नि । हुन त आजसम्म भेटिएका छैनन् । सायद भेटिने आशा पनि मारिसके होलान् परिवारले । अहिले प्रायः भुमिगत भएको साथि अर्जुन कुन्नि यतै कतै काठमाडौंमै छ क्यारे । आक्कलझुक्कल भेट हुन्छ ।

उसको बारेमा अर्कै सिरिजमा लेखौँला ।
सगै केहि महिना एक कक्षामा पढेका भगवती, पौवारीको गोपाले, अर्को रामे, उमा कता छन् थाहा छैन । कसैले थाहा पाए खबर गरिदिनुहोला ।

सानोमा माइलो दाइ र म एउटै खाटमा सुत्थ्यौँँ ।
खाटको छेउँमा सुत्न हत्ते गर्ने हामी अन्त्यमा मेरै जित हुन्थ्यो । फलस्वरूप उसलाई प्रमाणित गराउनु थियो, भाइ त लड्छ्स् कुनामा सुत भनेर । कैयौंपटक लडाइदिन्थ्यो मस्त निद्रामा भएको बेला ।

अँँ त्यतिबेला देख्ने सपनाका कुरा गरौं ।
सायद म हुर्किने बेला थिए क्यारे, सपनामा उडेको सपना देख्थेँँ । वारि र खेतका कान्ला हुँदै फाल हालेको सपना देख्थेँँ । एकाधपटक गाउँमा प्रत्यक्ष चितुवा देखेको म । बाघ भनेपछि निक्कै डराउथेँँ । हामी हाम्रो गाउँको जङ्गलमा पाइने चितुवालाई बाघ भन्छौ । हो, सपनामा पनि बाघले निक्कै तर्साउँथ्यो नि ! जब बाघले आक्रमण गर्न थाल्छ, म ब्युझेर निक्कैबेर रुन्थेँँ ।

मेरो रुवाई सुनेपछि आमा आएर भन्नुहुन्थ्यो, " आज पनि कान्छो सपनाएछ ।"

धन्यवाद !

😍😍


Sunday, April 12, 2020

फुर्सदमा

   
     फुर्सदमा

   - कविता

   - संघर्ष क्षेत्री

मान्छेहरु,
मान्छेहरु तिलको गेडालाई सगरमाथा ठड्याउछन्
एउटा सानो प्वाँखलाई चरो बनाउछन् ।
यहाँ जे-जे हुन्छ सब फुर्सदमा हुन्छ ।

 कुनै वैज्ञानिकहरु,
आफ्नो सोधमा व्यस्त भइरहदा
कविहरु कवितामा मस्त भइरहदा
किसानहरु,
आफ्नो अन्नबालीमा अनाज फलाउन व्यस्त भइरहदा
बेकम्मा गफाडीहरु गफको आइफल टावर खडा गर्छन् ।
यहाँ जे-जे हुन्छ सब फुर्सदमा हुन्छ ।
हो,
हो म पनि फुर्सदमा प्रेम गरेँँ ।
प्रेमिकासँगको व्यस्त समय निकालेर हातमुख जोर्ने ध्याउन्नमा व्यस्त रहेँँ ।
प्रेमिका १
उसलाई समय दिइनँँ भनेर झगडा गरेर छुट्टिई ।
प्रेमिका २,
म सँग प्रेम गर्न प्रतिस्पर्धा गर्दागर्दै आफ्नै प्रतिस्पर्धीसँग पछारिई । अनि,
प्रेमको व्यस्त समयबाट फुर्सदिलो भएँँ म ।
प्रेमिका ३
भन्थि
मेरा बा कट्टर छन्,
-जातपातको कुरामा
-धर्मकर्मको कुरामा

-इज्जतको कुरामा ।
ऊ फुर्सदमा थिइ र प्रेम गरि ।
अनि व्यस्त भएँँ म ।
म व्यस्त भएँँ दानापानी चपाउन नपाउनेगरी व्यस्त भएँँ ।
ऊ फुर्सदमा थिइ, र ड्राइभरसँग सुइँकुच्चा ठोकी ।
यहाँ जे-जे हुन्छ सब फुर्सदमा हुन्छ ।