Featured Post
अन्तिम साँझ - कथा - संघर्ष क्षेत्री
फुरुङ्ग थिइ ऊ । गाउँ बाट उसलाई भेट्न उसकी आमा आएकी थिइन् । छोरीको लागि भनेर बिहान-बेलुकीको दुधको कुराउनी,तरकारी र अन्य खानेकुरा कोसेली ल्याए...
Tuesday, April 14, 2020
मेरो बाल्यकाल
"माइला केलाई पिटिस्, भाइलाई ?"
हेडमास्टरले माइलो दाईलाई हकार्दा उसले हेडसरसँग अलिक डराउँदै जवाफ दियो !
"उसले केलाई पुतुरो खेलाउँछ तो ?", उता ऊ रुन थाल्यो । मास्टरको हप्किले । यता मास्टर र अन्य केटाकेटीहरु हाँस्दै छन् । दाइको थप्पड भेटेको म मास्टतको सहानुभूति र माइलो दाइलाई मास्टरले गाली गर्दा म एउटा जीत ठानेर रमाउँछु ।
त्यतिबेला सानै थिएँ ।
कट्टु लाउने चलन अझै सुरु भएको थिएन । म भन्दा तेईस महिना ठूलो मेरो माइलो दाइ भर्खर १ कक्षामा पढ्थ्यो । म भने उ सँग पछि लागेर गएको थिएँ । मलाई लाज अझै सुरु भैसकेको थिएन । हुन त म ४ मा पढ्ने बेलासम्म आमाले मलाई नाङ्गै नुहाइदिएको याद छ । दाइको पछि लागेर स्कुल जानू मेरो दैनिकी हुन्थ्यो । सायद मैले त्यसरी आफ्नो गुप्ताङ्ग छुनु हुँदैनथ्यो । उसमा अलिअलि लाजको विकास भएपनि म मा अझै विकसित भइसकेको थिएन । त्यसैले मैले मेरो गुप्ताङ्ग चलाएको हुँदो हुँँ । केटाकेटी बेला म पनि फोहोरी भन्दा अल्छि बढी थिएँ । धुलोमाटोमा खेल्नु, आफ्नो सरसफाइको कुनै मतलब नगर्नु यस्तै कारणले मेरो जिउ चिलाएको हुँदो हो ।
हुन त मान्छेले जति नै आदर्श छाटेपनि चिलाएको ठाउँमा कन्याउन बडो मज्जै मान्छ । म त केटाकेटी न थिएँ । अहिलेजस्तो थाहा थिएन, जहाँतहिँँ त्यसरी कन्याउनु हुँदैन । हो, मलाई लाग्छ एकान्तमा ठाउँ-कुठाउँ कन्याउने जमात लगभग शतप्रतिशत नै छ । तर आदर्शको डिङ हाक्ने जमात छ, "के कन्याएको त्यसरी ?" भनेर हकार्छ ।
हो, यतिबेला खसखस भएको आफ्नै कान कन्याउँदै ब्लग लेख्दैछु । कन्याउनुमा मलाई पनि मज्जै लाग्छ । तपाईंहरु लाई नि ? बाहिरफेर हासोमा उडाए पनि तपाईंले एकान्तमा यो ब्लग पढ्दै हुनुहुन्छ भने पक्कै कन्याउदै हुनुहुन्छ । तपाईंको नचिलाएको ठाउँ पनि चिलाएर आउन सक्छ ।
जस्तो खाजा खाँदा भुइँको टिप्नु हुँदैन भनेर आदर्श छाट्ने तपाईं घरको किचनमा खसेको खानेकुरा सकभर सफा गरेर खानुहुन्छ । कसैले नदेख्ने गरीको अवस्था छ भने, आफ्नै किचन त हो नि भनेर वेवास्ता गर्न सक्नुहुन्छ । सरसफाइ बारे । अँँ खाना विशेषगरी माछामासु पकाउँदै हुनुहुन्छ भने पक्कै चाख्नुहुन्छ । म पनि चाख्छु । साथिहरु पनि छन् भने एउटा प्लेटमा राखेर चखाउछु । तपाईंहरु मध्य कतिपयको मासु चाख्दाचाख्दौ कराही रित्याउने बानी पनि हुनसक्छ । तर त्यसरी कराही रित्याएको अनुभव भने मसग छैन ।
चाख्दा-चाख्दै कराही रित्याउने बानी नभएपनि चाख्न चाहिँ छाड्दिनँँ । खानामा जहिल्यै दाल चाहिने मैले दाल कहिल्यै दाल भने चाखिनँँ । त्यतिबेला मलाई लाग्छ, दाल चाख्यो भने पछि भात खानेबेलामा मलाई मिठो हुँदैन भन्ने जबर्जस्त विश्वास छ । अरु कसैले दाल चाख्न लगाएपनि म दाल चाख्दिनँँ । यो मेरो नितान्त निजी स्वाभाव हो । स्वाभाव स्वाभावैले स्वाभाविक हुन्छ भन्नेमा जबर्जस्त मत छ मेरो । नहुन पनि सक्छ । तपाईंहरुको हकमा ।
"धेरै भात कसरी खान सिकेँँ ?"
त्यसबारे कुनै अर्को ब्लगमा लेखौँला । अहिले बाल्यकालकै बारेमा लेख्न गइरहेको छु । कक्षा १ पनि सुरु नगर्दैको बेलाको कुरा । अँँ तपाईंलाई एउटा कुराको जानकारी गराउनै पर्छ भन्ने लाग्छ मलाई । मसँग सँगैको एक कक्षा पढेको साथी कसैले पनि एसएलसी दिएनन् । अझ सात-आठ कक्षा पढेर छाडे । त्यसैले मेरो स्कुले साथिहरु निक्कै कम छन् । प्रायः उमेरले पनि धेरै फरक नभएर होला, मेरो माइलो दाइ नै मेरो साथि थियो ।
भलै अहिले सम्पत्तिको तुजुक देखाएर अलिक तुच्छ व्यवहार देखाएपनि उँसगको साहचार्यलाई बडो सुनौलो काल मान्छु म ।
सात कक्षा पढ्दै गर्दा एउटा किराना पसलबाट क्याल्कुलेटर चोरेर मास्टरलाई बेच्ने चिन्ते पछि कुखुरा चोरीमा पक्डिएपछि स्कुल जान छाड्यो । हिसाबमा ऊ तगडा नै थियो । चोर्नमा पनि सायद । अँँ, सँगै एक कक्षा पढ्ने साथी अमृतले गाउँका एकजना 'गोजे'बाका कुखुराका चल्लाको पुजा गर्ने भन्दै भताभत मारेपछि ऊ अर्को गाउँको स्कुलमा पढ्न थाल्यो । कक्षामा जहिल्यै तृतीय स्थान पाउने म, म सँगैको कक्षामा प्रथम हुने जबुनी चार कक्षा पढ्दा-नपढ्दै बिहे गरिदिए घरकाले । उसको भाइ रामे पनि कुन्नि कति कक्षा पढ्दा फेल भएर दिल्लीतिर हानीयो । "जापानी" उपमामले चर्चित एउटा भान्जा भाइ पर्ने प्रकाश पढ्ने इच्छा हुँदा-हुँदै पढ्न पाएन । अँँ उसका बा हराएका थिए नि । हुन त आजसम्म भेटिएका छैनन् । सायद भेटिने आशा पनि मारिसके होलान् परिवारले । अहिले प्रायः भुमिगत भएको साथि अर्जुन कुन्नि यतै कतै काठमाडौंमै छ क्यारे । आक्कलझुक्कल भेट हुन्छ ।
उसको बारेमा अर्कै सिरिजमा लेखौँला ।
सगै केहि महिना एक कक्षामा पढेका भगवती, पौवारीको गोपाले, अर्को रामे, उमा कता छन् थाहा छैन । कसैले थाहा पाए खबर गरिदिनुहोला ।
सानोमा माइलो दाइ र म एउटै खाटमा सुत्थ्यौँँ ।
खाटको छेउँमा सुत्न हत्ते गर्ने हामी अन्त्यमा मेरै जित हुन्थ्यो । फलस्वरूप उसलाई प्रमाणित गराउनु थियो, भाइ त लड्छ्स् कुनामा सुत भनेर । कैयौंपटक लडाइदिन्थ्यो मस्त निद्रामा भएको बेला ।
अँँ त्यतिबेला देख्ने सपनाका कुरा गरौं ।
सायद म हुर्किने बेला थिए क्यारे, सपनामा उडेको सपना देख्थेँँ । वारि र खेतका कान्ला हुँदै फाल हालेको सपना देख्थेँँ । एकाधपटक गाउँमा प्रत्यक्ष चितुवा देखेको म । बाघ भनेपछि निक्कै डराउथेँँ । हामी हाम्रो गाउँको जङ्गलमा पाइने चितुवालाई बाघ भन्छौ । हो, सपनामा पनि बाघले निक्कै तर्साउँथ्यो नि ! जब बाघले आक्रमण गर्न थाल्छ, म ब्युझेर निक्कैबेर रुन्थेँँ ।
मेरो रुवाई सुनेपछि आमा आएर भन्नुहुन्थ्यो, " आज पनि कान्छो सपनाएछ ।"
धन्यवाद !
😍😍
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment